राहतको चामलमा एमालेको राजनीति !

राजनीति समाचार

१२ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको चामलमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको पत्र लेखेर राजनीति गर्न खोजिएको छ।

त्यसभित्र एउटा पत्र पनि समावेश छ र पत्रमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा –एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको छ । तर मंगलबार दिउँसो नेकपा एमालेको इटहरी नगर कमिटिले राहत बाँड्दै साथमा चिठी समेत थमाएको हो ।

एक साताअघि एमाले नगर कमिटीले राहत वितरण गर्न खोजको थियो । तर एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने भन्दै वडा अध्यक्षले रोकेका थिए ।

मंगलबार उपमेयर लक्ष्मी गौतमसमेत सहभागी भएर राहत वितरण गरिएको हो । ‘मलाई पनि चिठी छ भन्ने जानकारी भएन, उहीँ पुगेपछि मात्रै थाहा भयो,’ उपमेयर गौमले भनिन्,‘एमालेले एक साता अघि नै बाँड्न खोजेको राहत हो त्यो ।’ राहत वितरण गर्न वडाध्यक्षले रोके पनि नगर प्रमुखले अनुमति दिएको उपमेयर गौतमले दावी गरिन् ।

राहतको पोकोमा पत्र भेटिएपछि विवाद भएको थियो । विवाद भएपछि राहतको पोकोबाट पत्र फ्याँकिएको थियो । पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले विपन्न बस्तीमा रहेकालाई सान्त्वनास्वरुप राहत पठाएको बताए ।

‘राहत पठाएको बोरामा स्वास्थ्य लाभको कामना गरिएको छ,’ उनले भने,‘ यो ठूलो इस्यू बनाउने विषय होइन ।’ उनका अनुसार ११२ परिवारलाई किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेल राहत वितरण गरिएको थियो ।