वर्तमान सत्ता गठबन्धन विघटनतर्फ, नयाँ गठबन्धन बनाउने सहमति

Top Post राजनीति समाचार

काठमाडौं । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन विघटनको सम्भावना प्रबल बन्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नयाँ गठबन्धन बनाउने सहमति जुटेको छ ।

जसअनुसार नेकपा माओवादी केन्द्र, एमाले र रास्वपा लगायतका दलबिच नयाँ गठबन्धन बनाउने गरी लिखित सम्झौताको तयारी भएको उच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दललाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति कायम गरिसकेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका छन् । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव शंकर पाखरेलसहित प्रचण्डसँग छलफल गरेका छन्।

ओली प्रचण्ड छलफल लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन र रास्वपा सभापति रवि लामिछानेबिच छलफल भएको छ । सो छलफलमा सत्ता समीकरण फेरबदलको कुरा भएको बताइएको छ । ​

यसैबीच आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिती आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनमा दरार उत्पन्न भएको हो । महासमिति बैठकबाट माओवादीसँग चुनावी तालमेल नगर्ने तथा माओवादी जनयुद्धलाई अपमान गर्ने खालको दस्ताबेज पारित गरेको भन्दै प्रचण्ड कांग्रेससँग असन्तुष्ट बनेका थिए ।

बिहीबार चितवनमा पुगेर प्रचण्डले शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बाचा विगतमा गरेको भए पनि परिस्थिति फेरिएको बताएका थिए । लोकान्तर वाट।