टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता

Top Post स्वास्थ्य

२७ जेठ, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।

नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पु¥याएको समेत बताउनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताउनुभयो । उहाँले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । रासस