कोरोना संक्रमण वढेसंगै उपत्यकामा उच्च सतर्कता, भिडभाड नगर्न आग्रह

Top Post समाचार स्वास्थ्य

११ चैत, काठमाडौं । पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ ।
उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत अनुरोध प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै प्रशासनले जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।