३ वज्दा सम्म मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, चलखेलको आशंका

पालिका बिशेष समाचार

२९ जेठ, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि दिएको समय अहिले दिउँसो ३ सकिएको छ । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन्। अहिले सम्म नियुक्तिमा ढिलाई गरेकोमा सर्वत्र चलखेलको आशंका गरिएको छ।

गण्डकी प्रदेशमा बहुमतसहित विपक्षी गठबन्धनले शुक्रवार नै नयाँ सरकारको दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि शुक्रवार नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेस गरेका थिए।

सशरीर प्रदेश प्रमुखको कार्यालयमा सांसदहरू पुगेर नयाँ सरकारको दाबी पेस गरेका थिए। प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेभित्र बोलाउने भन्दै उनीहरूलाई फिर्ता पठाएकी थिइन्। तर मुख्यमन्त्री नियुक्तबारे अहिलेसम्म कुनै सूचना नआएको एक सांसदले बताए।

विपक्षीले समयमै दाबी पेस गरे पनि प्रदेश प्रमुखले नियुक्तिमा विलम्ब गर्दा विपक्षी गठबन्धन झस्केका छन्। ‘प्रदेश प्रमुख बिरामी हुनु भयो भन्ने हल्ला पनि चलेका छन्,’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रदेश प्रमुखको कार्यालय पनि सुनसान छ। संविधान मिच्ने काम नहोस्।’