१३ जेठ, गोरखा। गोरखाको बारपाकमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको छ। कोरोना संग मिल्दोजुल्दो लक्षणका कारण १३ दिनमा १२ जनाको ज्यान गएको छ। गएराती पनि ३ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरुमा बिगत केहि दिनदेखि रुघाखोकी, ज्वरो र निमोनिया देखिएको स्थानीयले बताएका छन्।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट का अनुसार बारपाक गाउँ आफैमा पनि घना बस्ति भएको र स्वास्थ्य मापदण्ड पालना गराउन पनि गाह्रो भएकोले यो घटना घटेको हो। गाउँपालिकाको एकल प्रयासबाट मात्रै यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा चुनौती देखा परेकोले महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग सहयोग माग गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए।
उनले प्रदेश र केन्द्रका सांसदसँग पनि सहयोगको आग्रह गरेका छन्। यहाँबाट केन्द्रमा बाबुराम भट्टराई र प्रदेशमा प्रकाशचन्द्र दवाडी सांसद छन्।
साथै सबै राजनीतिक दलहरूलाई यस अवस्थालाई सामान्यीकरण गर्न अध्यक्ष भट्टले आग्रह पनि गरेका छन्। गण्डकी प्रदेश सरकार र जिल्ला अस्पताल सहितको टोली शुक्रबार बारपाक जाने भएका हुन् । बारपाक जाने स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमण देखिएका सबैलाई जाँच गर्ने भएको छ । ११ सय घर घुरी भन्दा धेरै रहेको उक्त गाउँमा स्वास्थ्य समस्या जटिल बन्दै गएको समाचार सञ्चार माध्यममा आउन थाले पछि प्रदेश सरकारले चासो देखाएको हो ।