जेठ १३ देखि १५ गते सम्म विशेष सतर्कता अपनाउन आग्रह

समाचार

१२ जेठ, काठमाडौं । भोलि जेठ १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।

जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षाका साथै चट्याङ समेत पर्ने सम्भावना रहेको छ । उच्च बेगको हावाहुरी आउने सम्भावना समेत सो स्थानमा रहेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।