महेश बस्नेत संलग्न ट्रायल सेन्टरलाई एकाधिकार, ५ महिनासम्म पनि पालो पाउदैनन् सेवाग्राहीहरु

Headlines समाचार

१८ फागुन, भक्तपुर । नेपालमा गाडी र मोटरसाइकल खरिद गर्नेहरू संख्या बढिरहेको छ । तर गाडी र मोटरसाइकल खरिद गर्नेहरू सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि ३ महिना देखि ५ महिनासम्म पर्खिनुपर्ने बाध्यता छ । सरकारले यातायात कार्यालयहरूले आवश्यकताअनुसार ट्रायल सेन्टर थपेर सेवाग्राहीलाई छिटोछरितो लाइसेन्स प्रदान गर्न निर्देशन दिएको छ । तर त्यो निर्देशन यातायात कार्यालय जगाति भक्तपुरमा लागु भएको छैन ।

यातायात कार्यालय जगातिमा लाइसेन्सका लागि ५ महिनादेखि आवेदन दिएकाहरूले अहिलेसम्म ट्रायल परीक्षा दिन नपाएको गुनासो गरेका छन् । जगाति यातायात कार्यालयले एउटामात्र ट्रायल सेन्टरमा ट्रायल गराउँदै आएको छ । उक्त यातायात कार्यालयले इजिवे ट्रायल सेन्टरलाई मात्र ट्रायलको अनुमति दिएको छ । जबकि भक्तपुरमा तीनवटासम्म ट्रायल सेन्टरलाई ट्रायलको लागि अनुमति दिँदा सेवाग्राहीले ढिलोमा १ महिनामा पालो पाउँथे । तर अहिले ५ महिनादेखि ट्रायलका लागि सेवाग्राहीहरू पर्खिरहेका छन् ।

गाडी र बाइक खरिद गरेपनि सवारी चालक अनुमतिपत्रको ट्रायलमा ५ महिनासम्म पालो सेवाग्राहीहरू सास्ती भोग्न विवश छन् । यातायात व्यवस्था विभागले दिएको निर्देशनअनुसार ट्रायल सेन्टर थप्नेतर्फ जगाति यातायातका प्रमुख शशी महर्जनले चासो दिने गरेका छैनन् । जगाति यातायातमा सांसद महेश बस्नेतको कृपामा उनी कार्यालय प्रमुख भएकाले उनकै चाहना बेगर ट्रायल सेन्टर थप्न सक्ने अवस्थामा महर्जन छैनन् । इजिवे ट्रायल सेन्टरलाई मात्र ट्रायलको अनुमति दिएर सिण्डिकेट लगाउँदा सेवाग्राही घनघोर मर्कामा परेका छन् । महिनौंदेखि लाइनमा छन् । ट्रायल सेन्टर नथप्नुको कारण बारे कार्यालय महर्जन केही बोल्न चाहँदैनन् । बोले महेश बस्नेतले तुरुन्तै सरुवा गर्ने त्रास उनमा ब्याप्त छ । इजिवे ट्रायल सेन्टरमा सांसद बस्नेतको लगानी भएकाले सबै व्यापार त्यसैलाई दिँदा हजारौं सेवाग्राहीहरू मर्कामा परेका छन् ।

५ महिनादेखि पालो कुरेर बसेका छन् । महेश बस्नेतको ट्रायल सेन्टरको मासिक लाखौंको व्यापार गर्न किन हजारौं सेवाग्राही मर्कामा पर्ने ? भक्तपुरमा ३ महिना अगाडि मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिएका रामकृष्ण प्रजापतिले आक्रोश पोखे ।

देखावटीरुपमा इजिवे ट्रायल सेन्टरका सञ्चालक जोन भन्ने अभयबाबु प्रसाईं हुन् । उनी आफूलाई ठाउँअनुसार परिचय गराउँछन् । कहीं अभयबाबु भन्छन् त कहीं निर्भयबाबु भन्छन् । उनी जोनका रुपमा पनि आफूलाई कतिपय ठाउँमा प्रस्तुत गर्दछन् । विगतमा अनुज घिमिरे, किरण ढकाल जगाती यातायातको प्रमुख हुँदा पनि यिनै निर्भयबाबु प्रसाईंको इजिवेलाई नै ट्रायलको एकाधिकार दिइएको थियो । नेपाली कांग्रेसका घोषित कार्यकर्ता बताउने अनुज घिमिरे महेश बस्नेतका अतिनिकट थिए । महेश बस्नेतकै आर्शिवादमा उनले जगाती यातायातको ट्रायल सेन्टरको जिम्मा इजिवेलाई दिएका थिए । उनले लाइसेन्स बिक्री गरी अकूत सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा छन् ।

इजिवेका देखावटी सञ्चालक प्रसाईंले लाइसेन्समा समेत सेटिङ गर्ने गरेको आरोप छ । ट्रायलमा फेल हुनेहरूलाई गाडीको २५ हजार र मोटरसाइकलको १० हजार लिएर लाइसेन्स निकालिदिने गरेका छन् ।

यातायात कार्यालय जगाति हाकिमदेखि तलसम्म सबैलाई प्रसाईंले महेश बस्नेतको आडमा आफ्नो कारिन्दाजस्तै बनाएका छन् । इजिवे ट्रायल सेन्टरमा जगाति यातायातले ट्रायल गराउने भएकाले गाडी र मोटरसाइकल सिक्नेहरूको पनि त्यहीं लाइन लाग्ने गरेको छ । फेल भएपनि लाइसेन्स दिलाउन सक्ने प्रचार भएपछि प्रसाईंको बाहेक अरु ट्रायल सेन्टरमा कोही पनि सिक्न जाँदैनन् । प्रसाईंकोमा भने सिक्नेहरूको भीड लाग्ने गरेको छ ।

यसरी यातायात कार्यालयसँग सेटिङ गरी ट्रायल सेन्टरमा सिकारुहरूको लाइन लगाएर मासिक १० औं लाखको कारोबार प्रसाईंले गर्दै आएका छन् । जसको ठूलो हिस्सा महेश बस्नेतकोमा पुग्ने गरेको छ । उक्त ट्रायल सेन्टर महेश बस्नेतकै भएको भक्तपुरका एक नेकपा नेता बताउँछन् ।

यातायात कार्यालय भक्तपुर जगातीका हाकिमहरू पनि महेश बस्नेतको आशीर्वाद नभए टिक्न नसकिने भएपछि उनको व्यापारमा असर गर्नेगरी ट्रायल सेन्टर थप्न असमर्थता प्रकट गर्दछन् । लाइसेन्सको ट्रायल सेन्टर आवश्यकअनुसार किन नथपिएको भन्ने प्रश्नमा कार्यालय प्रमुख महर्जन भन्छन्, ‘अहिले त्यसैले पुगेको छ । उसले गाडीहरू राम्रो राम्रो राखेको छ । त्यही भएर उसैलाई मात्रै दिइएको हो ।’

इजिवे ट्रायल सेन्टर, सिर्जनानगर राधेराधे हनुमन्ते खोलाको पुलसँगै छ । पुल बनाउने क्रममा उक्त सेन्टरको जग्गासमेत पर्ने भएकाले उक्त पुल बनाउन नै इजिवे ट्रायल सेन्टरले रोक्दै आएको छ । पुल बनाउने स्थानको जग्गासमेत अतिक्रमण गरी उक्त ट्रायल सेन्टर सञ्चालित रहेको छ । लाइसेन्सका लागि आवेदन दिनका लागि समेत जगाति यातायातमा धेरै गाह्रो रहेको गुनासो छ । कुन बेला खुल्छ थाहै नहुने सेवाग्राही बताउँछन् । एउटा मोबाइलबाट दिनभरी कोसिस गर्दा बल्लबल्ल अनलाइन आवेदन भर्न सकिन्छ । एउटा स्मार्ट मोबाइलबाट एउटा मात्र आवेदन भर्न सकिन्छ । स्मार्ट मोबाइल नहुनेले आवेदनसमेत दिन नपाउने विडम्बनापूर्ण अवस्था छ ।

यसबीच, महेश बस्नेतले जगाति यातायात कार्यालय नै आफ्नो घर रहेको गुन्डुमा सार्ने तयारी गरेका छन् । गुन्डुमा दिनमा एउटा मात्र बस सञ्चालनमा छ । जबकि यातायात निर्देशिकामा दैनिक ५÷७ वटा बस सञ्चालन हुने लगायतका विभिन्न प्रावधान छन् । तर ती प्रावधान कुनैपनि नभएपनि निर्देशिका विपरीत उनी गुन्डुमा यातायात सार्ने दाउमा छन् । (सोमबारको साँघु साप्ताहिकबाट)