वादलको भाषण: क्रान्ति र अग्रगमनको शैली तर ओलि नै ठिक भन्नुपर्ने वाध्यता

राजनीति समाचार

२४ माघ, काठमाडौं। अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापालाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या पुष्पकमल दाहालमध्ये कसको कित्ता लिने हो स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो। हुन त उनी दाहालसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न पनि सक्थे।

तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे। थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन। उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराई ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे। थापाको यही अलमल देखेर एकचोटि दाहालले भनेका थिए, ‘उहाँ त्यता उभिनुभएको छ, भाषण हाम्रो गर्नुहुन्छ।’

त्यसयता पनि कैयौं मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि दाहालको, छुट्याउनै मुस्किल हुन्छ। त्यहीक्रम शुक्रबार पनि जारी रह्यो। ओलीपछिको दोस्रो वरीयता पाउने चर्चामा रहेका थापाले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री पनि हुँ भन्ने चटक्कै बिर्सिए ।

उनै थापाको नेतृत्वमा रहेको गृह मन्त्रालयले बिहीबार दाहाल–नेपाल नेतृत्वले आमहडताल गर्दा मुलुकमा कुनै पनि बन्द नरहेकाले निर्धक्क हिँडडुल गर्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो।

‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ। यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएको छ। यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ,’ थापाले भने, ‘नयाँ आन्दोलनबाट मात्रै नेतृत्व र संविधानको रक्षा गर्न सकिन्छ।’ उनले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताए। त्यो भनेको के हो भन्नेबारे उनले थप बुझाएनन्।

‘मांसहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधान र कानुनले अपराधी घोषित गरेको छ। मांसहारी आन्दोलन गर्नेलाई जावलाखेलका चिडियाखानामा लगेर बन्द गरिनेछ,’ थापाले भने, ‘मांसहारी आन्दोलन गर्ने फुटवादी, गुटवादी तत्त्वलाई चेतावनी दिन चाहन्छु, तपाईंहरू दुस्साहस र अपराध गर्दै हुनुहुन्छ । त्यसमा सचेत हुन आग्रह गर्छु।’ कान्तिपुर दैनिकबाट