२ पुस, काठमाडौं । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे मौन रहेको छ । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक भर्खरै पौने ७ वजे सकिएको छ ।
साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘आज विहीबार नियमित साप्ताहिक बैठक बसेको हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’
प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको थियो । स्रोतका अनुसार राजनीतिक परिस्थितबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि बि्रफिङ गरेनन् । करिब एक घण्टासम्म बसेको बैठन साँझ ७ बजे सकिएको थियो ।
विवादित अध्यादेशबारे व्यंग्य गर्दै एक मन्त्रीले भने, त्यो अध्यादेश क्याबिनेटले ल्याएको पनि होइन, आज यसबारे कुनै चर्चासम्म भएन ।’
सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए ।
तर, बिहीबार पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक रोकिएको थियो ।
प्रचण्डले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला भन्ने जवाफ दिएका थिए ।