कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

Headlines समाचार

४ असोज, काठमाडौँ। नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् ।

आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् ।

सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।
सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् ।

यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन् । उनले आफू संयोजक रहेको पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत भइरहेका अन्तक्र्रियामार्फत आफूलाई सक्रिय देखाइरहेका छन् । उनी संयोजक रहेको प्रतिष्ठानले आइतबार हुने भर्चुअल कार्यक्रममा पूर्वराष्टपति डा. रामवरण यादवलाई समेत सहभागी गराउँदै छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन् । सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ । सो समूहबाट महामन्त्री डा. शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन् ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत भर्चुअल कार्यक्रममार्फत नै समूहलाई सक्रिय भएको देखाउँदै आइरहेको छ । सो समूहले समेत उपसभापति निधिसहित नेताहरू डा. शेखर कोइराला, चित्रलेखा यादव, रमेश लेखक, प्रदीप गिरीलगायतलाई आफू पक्षीय भर्चुअल कार्यक्रममार्फत सहभागी गराउँदै आइरहेको छ ।

यसैगरी अर्का पूर्वमहामन्त्री प्रकाशमा सिंहले समेत सक्रियता बढाउँदै आइरहेका छन् । उनले समेत विभिन्न कार्यक्रममा आफू सभपतिका लागि तयारी गरिरहेको सन्देश दिँदै आएका छन् ।

कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संरचनालाई बदल्न विधान बनाए पनि महाधिवेशनअघि सम्पन्न गर्नुपर्ने अन्तरिम संरचना गठनका लागि सुरु गरिएको समायोजनको काम भने सकेको छैन ।

कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले महाधिवेशन मितिबाहेक पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा कांग्रेसले पटक पटक संशोधन गरिसकेको छ ।

कांग्रेसले २०७६ साउनमा नै पहिलो पटक समायोजन सक्ने भनेको थियो । त्यसपछि सोही सालको मंसिर हँुदै फागुनमा नै संरचना समायोजनको काम सक्ने बताएको थियो । पटक पटकको मिति त्यसै टारेको कांग्रेसले फेरि गएको १५ असारसम्म समायोजन सक्ने भन्दै मिति नै तय गरेको थियो ।

यसैगरी, पछिल्लो पटक समेत गत १० साउनसम्ममा सबै तहका संरचनाको समायोजन सक्ने भन्दै केन्द्रीय समितिबाट मिति नै तय गरेको थियो । पछिल्लो पटक तोकिएको मितिमा लगभग दुई महिना नाघ्नै लाग्दा पनि कांग्रेसले समायोजनको काम सकेको छैन ।

कांग्रेस केन्द्रले दाबी गरेकाबाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । जसअनुसार प्रदेश २ का आठ जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, बारा, पर्सा र सप्तरी तथा बाग्मती प्रदेशका काभ्रे र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशको मुस्ताङमा समायोजनको काम सकिएको छैन ।

कांग्रेसले पछिल्लो पटक समायोजनको काम सकेर क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्रै सक्न, भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो ।

तोकिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको मिति गुज्रिसकेको छ भने अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न तोकिएको मितिसमेत सकिएको छ ।

कांग्रेसले महाधिवेशनको प्रक्रियाबाट ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ । आजको राजधानी दैनिक मा महेश्वर गौतमले समाचार लेखेका छन्।