आज रानीपोखरीमा साढे ३ करोड लिटर पानी भरिँदै

Headlines समाचार

४ अशोज, काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माणसँगै आजबाट पानी भरीभराउ हुने भएको छ ।

पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै वर्षाको पानी जम्मा गरिँदै आएको थियो । पछिल्लो पटक बाग्मतीको पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविज्ञ राजुमान मानन्धरले आज आइतबार चार बजेसम्म पानी भरिसक्ने अनुमान सुनाए । ‘यसअघि आकासेपानी १ करोड लिटर भरिएको थियो, बाँकी २ करोड २२ लाख पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ,’ उनले शनिबार राजधानीसँग भने, ‘अहिलेकै अवस्थामा आइतबार चार बजेसम्म भरिसक्ने अनुमान गर्न सकिन्छ ।’

पुनर्निर्माण प्राधिकरणले बाग्मतीको पानी पोखरीमा जम्मा गरेर ९ इन्चको पाइपबाट भरिरहेको हो । रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेमा शनिबार साँझसम्म ७५ लाख लिटर बाँकी रहेको प्राधिकरणले जनाएको छ । यसअघि, आकाशबाट खसेको पानी दरबार हाइस्कुलको छानाबाट पोखरीमा खस्ने व्यवस्था गरिएको थियो ।

प्राधिकरणले यसअघि मेलम्चीको पानी रानीपोखरीमा हालेर झार्ने योजना पनि अघि सारेको थियो । अहिले भने बाग्मतीको पानी हालेर भरिएको छ ।

प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माण काम सम्पन्न गराएको थियोे । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इ“टा ओछ्याएको छ । आज को राजधानी दैनिक मा खबर छेपिएको छ।