गोरखामा कुकुरहरूले चितुवालाई लखेटेर मारे

समाचार

२८ भाद्र, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो ।

“घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभँुडीसमेत निस्किएको अवस्थामा फेला परेको छ”, उहाँले भन्नुभयो, “चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर गम्भीर घाइते भएका रहेछन् ।” जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिनुभयो ।