मन्त्रिपरिषद् वैठक बस्दै, लकडाउन बारे निर्णय हुने

Headlines समाचार

२६ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सर्टडाउनको अवस्थामा रहेको काठमाडौं उपत्यकालगायत देशका विभिन्न प्रदेशमा लकडाउन गर्ने निर्णय लिन सकिने बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो ।

भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सिसिएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।