१० असार, काठमाडौं । नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।
सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।
यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाइ छ ।
५ वैशाखमा पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । जसमध्ये विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्रमा ९८, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८२ जना रहेका छन् भने सो अन्य १६ जनाको उपचारको व्यवस्थापनको कार्य भइरहेको प्रदेश १ को सामाजिकविकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले बताए ।
जिल्लागत तथ्याङ्कका आधारमा हालसम्म प्रदेशभित्रको झापा जिल्लामा सबैभन्दा १ सय ८८ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये हालसम्ममा १ सय ३० जना उपचार पछि घर फर्किएका छन् । त्यस्तै मोरङका कुल १२७ सङ्क्रमितमध्ये २१ जना, सुनसरीमा कुल ६६ सङ्क्रमितमध्ये ३० जना र उदयपुरमा कुल ५२ सङ्क्रमितमध्ये ३८ जना २ पटक गरिएको परीक्षणमा लगातार नेगेटिभ परिणाम देखिएपछि घर फर्किएका छन् ।
त्यस्तै, धनकुटा, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुममा क्रमशः ८, ४, १, २ र २ जना सङ्क्रमित देखिएकामा शतप्रतिशत सङ्क्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । त्यसबाहेक भोजपुरमा ६ जना सङ्क्रमितमध्ये ५ जना र पाँचथर २ मध्ये एक ताप्लेजुङमा चारमध्ये ३ जना सङ्क्रमित उपचार पछि घर फर्किएका छन् । इलाममा देखिएका २ जनाको उपचार भइरहेको छ । ओखलढुङ्गामा सोमबार पहिलो पटक १ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षणका लागि नमुना सङ्कलन गरिएकोमा अब परीक्षणको दायरा बढाएर समुदायस्तरसम्म पु¥याउने तयारी भइरहेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा नेगेटिभ देखिएर घर फर्किएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू, महामारी नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीको पनि परीक्षणका लागि नमुना सङ्कलन गरिने छ । आजको गोरखापत्र दैनिकवाट।