सवारी पासको दुरुपयोग गर्दै यात्रु ओसार्ने नागढुंगामा पक्राउ

Top Post समाचार

९ असार, काठमाडौं । सवारी पास दुरूपयोग गर्दै यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ घर भएका ३७ वर्षीय सूर्य किरण कर्मचार्य र कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी नगरपालिका–१ घर भएका ३१ वर्षीय लोक बहादुर खत्री रहेका छन् ।

पक्राउ परेका चालकमध्ये कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्याबउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल–भारत रुपेडिया नाकाबाट ३ जना यात्रुहरू तथा नेपालगन्जबाट ४ जना यात्रु गरी ७ जना यात्रुहरु लिएका आएका थिए । उनले यात्रुबाट २१ हजार रुपैयाँ असुल गरेको यात्रुहरुको भनाई छ । खत्रीले उद्योग, बाणिज्य तथा आपुर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुलाई १८ हजार रुपैयाँ भाडा असुल गरि लिई आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । राजधानी दैनिकमा समाचार छ ।