गोरखा । गोरखा नगरपालिका वडा नं ३ होल्सिङ् नारेश्वर गोरखामा अवस्थीत प्राचीन झांक्री गुफा संरक्षण को अभावमा ओझेलमा परेको छ । करीव १५० मिटर लामो तथा सांघुरो घेरामा रहेको र दश मिटर लम्वाईमा मानिस आवत जावत गर्न सकिने उक्त गुफा प्राचीन कालमा स्थानीय वासिन्दाबाट झांक्री वन्न योग्य व्यक्तिलाई झाँकीले छानेर लगेर तन्त्र मन्त्र सुनाउने, झाँक्रीको तान्त्रीक ज्ञान दिने, झांक्रीको कार्य गर्न सक्ने गरि परिपक्व झांक्री बनाउन गुफामा राख्ने र सक्षम भएपछि छाडिदिने “तान्त्रिक भूमी” को रुपमा रहेको किवंदन्ति पाईन्छ ।
स्थानीय खडानन्द अर्यालका अनुसार, उक्त गुफा संरक्षण र सम्वर्द्दन गर्न सकेमा गोरखा जिल्लाको एक नमूना ऐतिहासिक पुरातात्विक स्थान को रूपमा विकसीत हुने संभावना देखिन्छ। वृहत पर्यटकीय संभावना वोकेको उक्त झांक्री गुफालाई संरक्षण तथा सवर्द्धनमा सर्वपक्षिय ध्यानाकर्षण हुनुपर्ने वताउंछन् ।
गुफाको अवस्थिति हेर्दा यसलाई तारवार गरेर प्रवेशद्वार तथा वगैंचा आदी वनाउन सकेमा उक्त स्थान ज्यादै मनमोहक, आकर्षण, स्वच्छ र सुन्दर देखिने तथा सूर्योदयको आकर्षक दृश्य हेर्ने, गुफा परिसर अवलोकन अध्ययन गर्ने आन्तरीक तथा बाहय पर्यटक समेतले भ्रमण गर्ने र पर्यटन विकासमा टेवा पुग्ने स्थानियहरू वताउंछन् ।
गोरखा सदरमुकामवाट नजिक रहेको रक्त गुफा स्थानिय वासीन्दा, स्थानिय सरकार र प्रदेश सरकारको ध्यान नपुगेको कारण पछि परेको छ । गोरखा न.पा. भित्रका गोरखकाली मन्दिर नजिकै रहेको भिमसेन पार्क यस गुफाको माथिल्लो भेगमा रहेको विन्ध्यवासिनी मन्दिर र तल झांक्री गुफा रहेकोले आन्तरीक पर्यटक अबलोकन भ्रमणका लागी १/२ दिनको समय लिएर आउन सक्ने र दिनभरी घुमेर वेलुका गोरखा सदरमुकाममा रहेको रानीपोखरीमा आरती गर्न पुगिने स्थानिय ज्ञानहरी अर्याल वताउंछन्।
उक्त गुफा मर्मत संभार तथा सम्वर्दनका लागी प्रदेश सरकार पर्यटन मन्त्रालयवाट आर्थीक वर्ष २०७९/२०८० मा नौ लाख रुपैया अनुदान प्राप्त भएको र उक्त योजना वाट सामान्य पूर्वाधार निर्माण कार्य भईरहेको छ। उक्त गुफा को संरक्षण गर्न, आकर्षण बढाउन, पर्यटकिय स्थलको रुपमा विकसित गर्न ठूलो बजेट रकम आवश्यक देखिन्छ।
तस्विर: विष्णुहरी अर्याल