रवि लामिछाने बारेको समाचार सिएमएसमा प्रवेश गरि अनधिकृत रूपमा हटाइयो

Top Post राजनीति समाचार

काठमाडौं । पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।

सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन् । लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेरा डटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति संघले आपत्ति जनाएको हो ।

प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया अवलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय छ, संघ यस घटनाको भर्त्सना गर्दै छानबिन गरि दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ,’ संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाचार कसले डिलेट गर्‍यो भन्ने बारे छानबिन भइरहेको उकेराले जनाएको छ ।