काठमाडौँ। दिनेश पाण्डे वैदेशिक रोजगारीका क्रममा ११ वर्षसम्म कुवेतमा बसेर आएका थिए। गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई तारकेश्वर नगरपालिका-२ पदमसालमा पनि घर बनाएका ४१ वर्षीय दिनेश र ३९ वर्षीया सुनिताबीचको सम्बन्धमा खटपट ल्याउने कारण त्यही वैदेशिक रोजगारी बनेको थियो।
वैदेशिक रोजगारीमा ११ वर्षसम्म कुवेत बसेर दिनेशले तारकेश्वरमा एकतले घर बनाएर श्रीमती र छोराछोरीलाई गोरखादेखि सारेका थिए। दिनेश वैदेशिक रोजगारीमा हुँदैदेखि उब्जिएको शंका आइतवार रातिसम्म आइपुग्दा परिवार नै सखापसम्मको दु:खद कहानी बन्न पुगेको छ।
महानगरीय प्रहरी परिसरका एकजना अधिकारीका अनुसार दिनेशलाई पत्नी सुनितालाई यसअघि पटक पटक सम्झाएको खुलेको छ। सुरुमा दिनेशले सम्झाइ बुझाइ गरे जस्तो देखिए पनि विस्तारै दुईजनाबीचको विवाद सम्हाल्नै नसकिने गरी चुलिएको थियो। जसले हुर्किँदै गरेका छोराछोरीसहितको एउटा सुन्दर परिवार आइतवारदेखि सदाका लागि उजाडिएको छ।
वैदेशिक रोजगारीबाट दिनेश फर्किएपछि पनि दिनेशले सुनितालाई सुनिताले दिनेशलाई शंका गर्ने क्रम झन् बढेको थियो। उनीहरु दुवैले अर्कैसँग सम्बन्ध रहेको भन्दै शंका गर्दै जाँदा घटनाले यति गम्भीर रुप लिएको छ। दुईजनाबीच विवाद बढ्दै गएपछि सुनिताले दिनेशविरुद्ध २०७७ माघ २४ गते बालाजु प्रहरी वृत्तमा घरेलु हिंसाको उजुरी हालेकी थिइन्।
त्यसपछि दिनेश र सुनिता दुवैलाई बालाजु वृत्तले चौकीमा बोलाएर छलफल गराएका थियो। त्यसबेला दुवैजना मिलेर बस्न सहमत भएपछि प्रहरीले कुनै कारबाही अगाडि नबढाइ सम्झाएर पठाएको थियो।
तर त्यसपछि फेरि सुनिताले दिनेशलाई ज्यान मार्ने उद्योगमा पनि थुनाउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजेको आरोप दिनेशले सुसाइड नोटमा लगाएका छन्। श्रीमती र श्रीमतीका दाजुहरूमाथि यो आरोप छ’, एक अनुसन्धान अधिकृतले भने, ‘यो घटना एकअर्कालाई शंका गर्दै जाँदा सम्पतिको विवादसम्म पुगेर भएको देखिन्छ।’
दिनेशले पत्नी सुनिताले मोबाइल पनि आफैं राख्ने र हेर्नै नदिने गरेको गुनासो पनि सुसाइड नोटमा गरेका छन्। दिनेशले आफूलाई छि छि र दुरदुर गर्ने र हेप्ने गरेको गुनासो पनि सुनितासँग गरेका छन्। सुनिताले हेप्ने तथा आफूमाथि पनि शंका गरिरहेपछि यो कदम उठाउन बाध्य भएको कुरा उनको सुसाइड नोटमा छ।