चर्चामा रहेका ‘एम अधिकारी’ को हुन् ? गभर्नर कि अरू कोहि !

Top Post अर्थ राजनीति समाचार

काठमाडौं । एमालेको आधिकारिक वेबसाइटमा अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम समावेश भएसंगै यतिवेला तरंग पैदा भएको छ।  यद्यपि सदस्यको नामावलीमा एम अधिकारी (खोटाङ) भनेर राखिएको छ। उक्त विभागको प्रमुखमा घनश्याम भुसाल छन् भने सचिव योगेन्द्रबहादुर शाही छन्। यही विभागका नौजना सदस्यहरूमा एम अधिकारी पनि अटाएका छन् । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ।

एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत चर्चा  भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै आलोचना गरिरहेका छन् ।

गभर्नर अधिकारी खोटाङको खोटेहाङ गाउँपालिकाको सिमपानीका स्थायी बासिन्दा हुन्। तर, एम अधिकारी नाम गरेका व्यक्ति खोटाङमा मात्र होइन देशका कुनै पनि स्थानबाट एमालेसँग आबद्ध नरहेको खोजबिन गर्दा फेला परेको छ। ‘एमालेको अर्थ समितिमा गभर्नर अधिकारीलाई नै सदस्य राखिएको हो’, एमालेनिकट स्रोतले भन्यो, ‘अहिले उनको पूरा नाम राख्न नमिल्ने भएकोले एम अधिकारी भनेर राखिएको हो।’

राष्ट्र बैंकका गभर्नर सरकारका प्रमुख आर्थिक सल्लाहकारका रुपमा रहेका हुन्छन्। अहिलेको अवस्थामा गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागका सदस्य हुनुले ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ देखिन सक्ने जानकारहरु बताउँछन्।

अर्थशास्त्रीहरूका अनुसार, राष्ट्र बैंकका गभर्नर एउटा पार्टीको विभागीय सदस्य हुनु भनेको दुर्भाग्यपूर्ण रहेको बताउंछन्। ‘स्वायत्त निकायको कुनै पदमा बसेका व्यक्ति पार्टीसँग आबद्ध हुन पाउँदैनन्, पद छोडिसकेको अवस्थामा भए फरक कुरा हुन्थ्यो’, ‘यस्तो अवस्थामा अधिकारीले नैतिकताका आधारमा गभर्नर पदबाट तत्काल राजीनामा दिनुपर्छ।’ एक अर्थशास्त्री वताउंछन् ।