भिडभाड हुने स्थानहरूमा कडाइ गर्ने प्रशासनको तयारी

Headlines समाचार स्वास्थ्य

२५ पुस, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पनि भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने तयारी गरेका छन् । राजधानी उपत्यकामा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको हो ।

कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाई छ । जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएकोले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उपत्यकाका सिडओहरुको तयारी रहेको छ ।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक÷दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने बताएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय भएको बताएका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि खुला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।