२ भाद्र, काठमाडौं । मन्त्रपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला कोरोना संकट समिति’लाई जोखिम विश्लेषण गरी संक्रामक रोग ऐन २० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निशेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ ।
यससंगै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सकेसम्म भोलिदेखि नै तीनवटै जिल्लामा मानिसहरुको आवागमनलाई ठप्प पार्ने गरी नयाँ आदेश जारी गर्ने पूर्व तयारीमा जुटेको बुझिएको छ । उपत्यकाको आवागमनलाई ठप्प पार्ने गरी कुनै निर्णय वा आदेश जारी गर्ने गरी आवश्यक तयारी गरिरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार सम्भवत् आज रातिसम्म आदेश जारी हुनसक्छ ।
उपत्यकामा दिनानुनिद कोरोना संक्रमितहरु बढिरहेका छन् । आज मात्रै उपत्यकाका २ सय पाँच जनामा संक्रमण पुष्टि भएको छ ।