काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका जाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएको बताए। उनले भने, ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो । यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।
पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन् – ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ । तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।
यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुडाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने, ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकसमकसलाई दुडालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्दू देखाउदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।
कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए। ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपगेका शरणार्थीपति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिने उनले भने ।
मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पनरुत्थान’ र ‘सवर्णलता’ प्रकाशित छन् सांगिला बक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।