फेरि भरिन थाले अस्पताल

Headlines समाचार स्वास्थ्य

४ भाद्र, काठमाडौँ। पछिल्लो समय कोरोनाभाइरस (कोभिड—१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि बढेको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

कोरोनाको दोस्रो लहरमा ग्राफ उच्च हुँदा वैशाख २८ गते एकै दिन ९ हजार ४ सय ८३ जना सङ्क्रमित भएका थिए भने २२५ जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहरमा सङ्क्रमणको ग्राफ ओरालो लागेपछि पुनः बिस्तारै ग्राफ उकालो लागेर सङ्क्रमण र मृत्यु दर उकालो लागेकाले तेस्रो लहर सुरु भएको जनस्वास्थ्यविद्हरुले बताउन थालेका छन् ।

कोरोना सङ्क्रमण र अस्पताल भर्ना हुने बिरामी ह्वातै बढेकाले कोरोना सङ्क्रमणको नयाँ लहरको सुरुवाती भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीको आङ्कलन छ । ‘अघिल्लो लहरमा सङ्क्रमित, अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर पिक पाइन्टमा पुरेर बिस्तारै ग्राफ तल झेरेपनि बिस्तारै माथिमाथि सर्दै गएकाले यो नेपालमा नयाँ छालको सुरुवात हो,’ डा. मरासिनी भन्छन् ।