खुशिरामको खुसीले जन्माएको बिशाल फुटसल सञ्चालनमा

खेलकुद समाचार

३२ साउन, काठमाडौँ। दाङका खुशिराम चौधरी (२७) लाई सानैदेखि फुटबल खेल्ने रहर थियो तर विभिन्न कारणले सोचेको सपना पुरा हुन सकेन । आफ्नो सपना पुरा हुन नसकेपनि करोडको लगानीमा धेरै युवाहरुको सपना पुरा गर्न तल्लिन छन् २७ बर्षिय खुशीराम चौधरी। उनी युवा उद्यमी चौधरीले करोड खर्च गरेर ललितपुरको इमाडोल मा फुटसल सञ्चालनमा ल्याएका छन्। साउन ३२ गते भब्य रुपमा ओपनिङ्ग गर्ने पनि चौधरीले बताए।

फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक खुशिराम चौधरीले जानकारी दिए ।

“इमाडोल तथा आसपासका युवा तथा बालबालिकामा फुटबलप्रति निकै मोह छ, तर ठाउँ अभावका कारण सबैले खेल्ने इच्छा हुँदाहुँदै पनि खेल्न पाउनुभएको छैन”, उनले भने, “त्यही अभावलाई पूरा गराउन फुटसल सञ्चालनमा ल्याएका हौँ ।” खेल्न चाहनेका लागि सोमबारबाट बुकिङ खुला गरिने सञ्चालक चौधरीले जानकारी दिए । उनका अनुसार बल, खानेपानी र प्राथमिक उपचारका सामग्री फुटसलमै उपलब्ध हुनेछ ।

यस ठाउँलाई फुटसलको ट्रेनिङ सेन्टर बनाउने लक्ष्य राखिएको छ । खेलकूदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित निकट भविष्यमा ट्रेनिङ सेन्टर पनि स्थापना गरिनेछ ।

फुटसल भनेको के हो भन्ने हाम्रो जिज्ञासामा खुशीराम यसो भन्छन् , “फुटसल भनेको ‘मिनी’ फुटबल हो । यसको मैदान १०० मिटर लामो र ६० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।”