१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि कोरोना भाइरस संक्रमण बढेको भन्दै भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । काठमाडौं प्रशासनले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि नगर्न/ नगराउन सूचित गरेको हो ।
‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित परयोग नगर्ने, भौतिक दूरी कार्यम नगरी अव्यवस्थित रूपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरू नगर्न/नगराउन सबैलाई सूचित गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराए कानुन बमोजिम कडा कारबाही गरिने पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुरीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।