साताको पहिलो दिन सेयर बजारमा देखियो उत्साह

अर्थ समाचार

२७ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि चमक देखिएको हो । असार मसान्त नजिकिंदै गर्दा बजारले सकारात्मक संकेत देखाएको हो । सरकारी खर्च ह्वात्तै बढेका कारण बजारमा पैसा आएको छ । यसले बैंकमा निक्षेप पनि थपिएको छ । यसको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ ।

यस्तै, यसअघि संस्थागत लगानीकर्ता, म्युचुअल फन्ड र ठूला लगानीकर्ताले सेयर बिक्री गरेका थिए । कर तिर्न, बैंकको साँवा–ब्याज भुक्तानीका लागि उनीहरुले रकम जोहो गरिसकेकाले फेरि विस्तारै बजार प्रवेश गरेको अनुमान छ । यसअघि निरन्तर भाउ घटेकाले पनि लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

यो समाचार तयार पार्दासम्म (करिब १ः२५ बजे) नेप्से सूचक ५५ अंक भन्दा बढीले वृद्धि भएको छ । ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । सबै समूहका सूचकमा वृद्धि भएको छ ।