बारपाक सुलिकोट जिल्लाकै उत्कृष्ट गाउँपालिका घोषित, भिमसेन गाउँपालिका भने कमजोर

पालिका बिशेष समाचार

२६ असार, गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका जिल्लाको सबैभन्दा उत्कृष्ट गाउँपालिका घोषणा भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखाका ११ पालिकामध्ये वारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट देखिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ सय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा वारपाक सुलिकोटले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा बारपक सुलिकोट गाउँपालिकाले ६६ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको छ । पालिकाको समग्र कामलाई पारदर्शी, जवाफदेही, ब्यवस्थित, सहभागीतामूलक, सेवाग्राहीमैत्री बनाउनतर्फ ध्यान दिइएकाले यो नतिजा प्राप्त भएको वारपाक सुलिकोटका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

संस्थागत क्षमता स्वमूल्याङ्कनमा अजिरकोट गाउँपालिकाले ६५ दशमलव ५, शहिद लखन गाउँपालिकाले ६० दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । यस्तै सिरानचोक गाउँपालिकाले ५२ दशमलव ५, धार्चे गाउँपालिकाले ४६ दशमलव ५, गण्डकी गाउँपालिकाले ४५ र चुमनुब्रीले ३३ दशमलव ५ अंक प्राप्त गरेका विवरणमा उल्लेख छ ।

जिल्लाका दुई नगरपालिकामध्ये गोरखा नगरपालिकाले ४२ दशमलव २५ र पालुङटार नगरपालिकाले ४१ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । भिमसेन थापा गाउँपालिकाले भने सबैभन्दा कम ३३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।