नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा वढि हतियार प्रदान

Top Post समाचार

२१ असार, काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई १० हजार आठ सय १८ नाल राइफल र मेसिनगन तथा करिब १५ लाख गोलाबारुद दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डामा आयोजित कार्यक्रममा तीन सय नाल हतियार, गोलाबारुद र एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले हतियार हस्तान्तरण गर्न लागेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गर्न लागेको हो ।

मन्त्रिपरिषद्को १७ जेठको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई राइफल र मेसिनगन उपलब्ध गराउन लागेको हो । सेनाका अनुसार राइफल, सबमेसिनगन, लाइट मेसिनगन गरी जम्मा १० हजार आठ सय १८ नाल तथा गोलीगठ्ठा १४ लाख ९४ हजार १६ थान उपलब्ध गराउनेछ ।