प्रतिनिधि सभा विघटन विरूद्ध मुद्दाको बहस आज सकिँदै

Top Post समाचार

२१ असार, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनको बहस सोमबार सकिँदैछ । गत आइतबार रिट निवेदक पक्षको बहस सकिपछि सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु गरेका थिए सरकारी तर्फबाट शुक्रबार बहस सकिएसँगै आइतबार सभामुख अग्नि सापकोटा पक्षका वकिलहरुले बहस गरेका थिए ।

आज साेमबार निवेदकतर्फबाट जवाफी बहस सकिएपछि नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले बहस गर्ने छन् ।

निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ ।

अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ ।

जवाफी बहसकाे निर्धारित समयमा आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा लिएका थिए भने सोमबार बाँकी समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाललले विपक्षी र इजलासले उठाइएका प्रश्नको जवाफ दिनेछन् ।

स्रोतका अनुसार सोमबार निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला सार्वजनिक हुने संभावना धेरै रहेको छ ।

असार ९ गतेदेखि निरन्तर हुँदै आएको सुनुवाइमा संवैधानिक इजलासले विनेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा, जवाफी बहसका लागि थप तीन घण्टा, विपक्षीलाई १५ घण्टा र एमिकस क्यूरीका लागि दुई घण्टा समय निर्धारण गरेको थियो ।

निवेदकले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष बुझाएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।