निर्वाचन आयोगको निणर्यविरुद्ध सर्वोच्च जाने उपेन्द्र समूहकाे तयारी

Top Post राजनीति समाचार

३१ जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवादबारे निर्णय गर्दै दुबै समूहको कारबाहीलाई खारेज गरिदिएपछि अध्यक्ष उपेन्द्र यादव समूहले आयोगको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै कानुनी उपचारमा जाने बताएकाे छ ।

निर्वाचन आयोगले दलीय व्यवस्थामै अंकुश लगाउने खालकाे सेटिंग निर्णय गरेकाे भन्दै यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यादव समूहले बताएकाे हाे ।

स्राेतका अनुसार निर्वाचन आयोगले स्वीकृत गरेको पार्टीको विधान अनुसार भएको निर्णयलाई मान्यता नदिनु भनेको सेटिंग भएको हाे भन्ने दावी यादव समूहले गरेकाे छ ।

५१ सदस्यीय कार्यकारिणी मध्ये ३२ जनाको उपस्थितिमा अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गर्दै उपेन्द्र समूहले दल दर्ता कितावमा अभिलेख नवीकरण गर्न निवेदन दिएको थियो ।

र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि अध्यक्ष यादवलाई कारबाही गर्दै दल दर्ता किताबमा अभिलेख नवीकरणका लागि निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले आइतबार दुबै समूहको निवेदनलाई खारेज गरिदिएको छ ।

उपेन्द्र समूहले आयोगमा निवेदन दिँदा आयोगले मागे अनुसार राजनीतिक दल सम्बन्धी नियामवलीको अनुसूची १८ बमोजिम निवेदन र बैठकको निर्णय तथा उपस्थित सदस्यको हस्ताक्षरसमेत बुझाएको थियो । तर, महन्थ समूहले भने ठाडो निवेदनमात्र दिएको थियो ।