राजनीतिक चलखेलको आशंकामा गणेश लामा पोखरावाट पक्राउ

पालिका बिशेष समाचार

२७ जेठ, पोखरा। डनको छवि भएका नेपाली कांग्रेसका युवा गणेश लामालाई बिहीबार पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला लामा अचानक काठमाडौंबाट पोखरा आइपुगेका थिए । पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए । यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते । प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।