माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा, प्रचण्ड र उपेन्द्रको तयारी

Headlines राजनीति समाचार

७ जेठ, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको छ ।

विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भएको थियो । उक्त छलफलमा कांग्रेस,माओवादी, जसपाको उपेन्द्र यादव र एमालेका माधव नेपालहरू सहभागी थिए ।

नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् । त्यो अनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुन्छ ।

माधव नेपालनिकट एक स्थायी समिति सदस्यले पनि नेपाल प्रधानमन्त्री हुने संभावना रहेको दाबी गरे । अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकोले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो । संविधानविद् भीमार्जुन आचार्यले भने, धारा ५ अनुसार सरकार बनाउन दलको ह्वीप लाग्दैन ।