खोप खरिदमा आलटाल

समाचार स्वास्थ्य

५ जेठ, काठमाडौँ। पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।

उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइले

खोप छिट्टै आइहाल्ने आशा जगाएको थियो । तर १५ दिनपछि बल्ल सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ । तिनैमध्ये कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । विभागका आपूर्ति महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको बताए । ‘हामीले २० लाख डोज खोप खरिद गर्न लागेका छौं, कहिले उपलब्ध गराउने भनेर तीन कम्पनीलाई पत्र लेखेका छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरेको तीन दिनपछि वैशाख २३ मा बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको टोलीले चीनसँग कोरोना महामारी नियन्त्रणका लागि खोप, अक्सिजन सिलिन्डरलगायत सहयोगको प्रस्ताव गरेको थियो । उक्त टोलीले खोप उत्पादक सिनोफार्मका अधिकारीलाई नै भेटेर खोप सहयोग गर्न आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यति बेला नेपाललाई २० लाख डोज भेरोसेल खोप उपलब्ध गराउन सक्ने जनाएको बेइजिङस्थित दूतावासका उपप्रमुख सुशील लम्सालले बताए ।

यस विषयमा एक साताअघि नै दूतावासले परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयले यसबारे कुनै निर्णय लिन सकेको छैन । खोप उत्पादन गर्ने कम्पनी र चिनियाँ अधिकारीहरू बेइजिङ दूतावासको सम्पर्कमा रहेकै अवस्थामा स्वास्थ्य सेवा विभागले भने सिनोफार्मको ठेगाना पत्ता नलागेको बहाना बनाएको हो ।

‘स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने व्यक्तिले आँट देखाएर निर्णय गर्न सकेका छैनन्,’ स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ सुशील प्याकुरेलले भने, ‘यसको असर खोप खरिदमा परेको छ । नेतृत्व लिएका व्यक्तिले आफूमा हिम्मत नभए मातहतका प्राविधिक र विज्ञ व्यक्तिलाई अधिकार दिनुपर्छ ।’

मन्त्रालय र विभागमा खोप र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा सामान्य जानकारी पाउन पनि मुस्किल छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि खोप, अक्सिजन, बेड अभावजस्ता विषयमा पत्रकारहरूसँग तर्किने गरेका छन् । ५० लाख डोज खोप खरिदमा नेपाली एजेन्टले मागेको कमिसन दिन तयार नहुँदा प्रक्रिया नबढाएको अभिव्यक्तिले उनी विवादमा तानिएका छन् । दोस्रो डोजका लागि खोप सुरक्षित नगरी प्रगति देखाउन मन्त्री त्रिपाठीले अनुदानमा प्राप्त र खरिद गरेको खोप पहिलो डोजमै सकाएका थिए । १४ लाख ५० हजारभन्दा बढी व्यक्ति दोस्रो डोजको खोप पर्खिरहेका छन् ।

‘सांसद र उनीहरूका आफन्तले दोस्रो डोज पनि लगाइहाले,’ प्याकुरेलले भने, ‘मारमा त उही वृद्धवृद्धा परे ।’ पहिलो डोज लगाएको १२ सातामा दोस्रो डोज लगाए बढी प्रभावकारी हुने विज्ञले जनाएका छन् । यस हिसाबले पहिलो डोज लगाएकाले जेठ तेस्रो सातासम्म दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ । तर खोप आउने अझै निश्चित छैन । संक्रमण रोकथाम तथा नियन्त्रण, खोप खरिदलगायत विषयमा सिफारिस गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसीसमेत सक्रिय छ तर सीसीएमसी सेवामुखीभन्दा पनि ‘अन्यमुखी’ बनेको टिप्पणी पूर्वप्रमुख विशेषज्ञ प्याकुरेलले गरे ।

सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप २० लाख डोज खरिदका लागि सम्झौता गरे पनि १० लाख डोज मात्र ल्याइएको छ । १० लाख डोज कहिले आउने निश्चित छैन । चीनको सिनोभ्याक्स खोप ल्याउन व्यवसायी तयार भए पनि स्वीकृतको फाइल अघि बढाएको छैन । ‘साढे दुई महिनाअघि नै सबै कागजपत्र आइसकेको हो तर आपत्कालीन प्रयोगको अनुमति र आयात स्वीकृतिको निर्णय भएको छैन,’ विभाग स्रोतले भन्यो । अनुमति पाएको ३५ दिनभित्र २० लाख खोप आयात गर्ने प्रस्ताव व्यवसायीले विभागमा पेस गरेका हुन् ।

खोपविज्ञ डा. श्याम उप्रेतीले कोरोनाको दोस्रो लहरमा खोप लगाएका व्यक्तिलाई संक्रमणले कम असर गरेकाले पनि सरकारको प्राथमिकता खोप खरिदमा हुनुपर्ने बताए । ‘भ्याक्सिन लगाएकाहरू संक्रमित भए पनि गम्भीर भएको देखिएन । मृत्युबाट बचाउन खोपले सहयोग गरेको पाइयो,’ उनले भने, ‘आउँदो वर्ष ३० वर्षभन्दा माथिका ४१ प्रतिशत नागरिकलाई खोप लगाउन सरकारले कम्तीमा १ करोड १० लाख खोप किन्नुपर्ने हुन्छ ।’

कोभ्याक्सबाट १ करोड ३० लाख डोजभन्दा बढी खोप आउने अनुमान सरकारले गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले वैशाख २८ को पत्रकार सम्मेलनमा खोप खरिदका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको दाबी गरेका थिए । ‘हामीले अमेरिकाले अनुदानमा दिने खोप प्राप्त गर्न पनि छलफल अघि बढाएका छौं,’ उनले भनेका थिए, ‘अनुदानको खोपमा मात्रै हामी परेका छैनौं ।’ कान्तिपुर राष्ट्रिय दैनिकबाट