१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता बचाउनका लागि गुण्डानाइके दीपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेका छन् । ज्यान मार्ने उद्योग लगायतका दर्जनौ आरोपमा उनी पटक पटक थुनामा परिसकेका छन् ।
बिहीबार गरेको मन्त्रीपरिषद बिस्तारमा मुख्यमन्त्री गुरुङले राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाकई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
मनाङ्गे पनि सुरुमा अविश्वास प्रस्तावकै पक्षमा थिए । तर बुधबार अविश्वास प्रस्तावको मतदानका दिन बिहानैदेखि उनी सम्पर्कबिहीन भएका थिए । बिहीबार उनी मन्त्रीमा नियुक्त भए । बुधबार अविश्वास प्रस्तावको मतदानको मिति तोकिएको थियो । तर बुधबार बिहानदेखि जनमोर्चा नेपालका सांसद खिमविक्रम शाही र मनाङ्गे सम्पर्क विहीन भएका थिए ।
मंगलबार शाहीले कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनलाई पुनःपरीक्षण गराई एक मिनेटमै रिपोर्ट निकालियो । र, अस्पतालको आइसीयुमा भर्ना गरिएको छ । जहाँ उनकै पार्टीका नेता चित्रबहादुर केसीलाई समेत भेट्न दिइएको छैन । नेता केसीले गण्डकी प्रदेश सरकारले सत्ता बचाउन आफ्नो पार्टीका सांसद अपहरण गरेको आरोप लगाएका छन् ।