२८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । मतगणना सकिए पनि केही जिल्लाको मत आउन बाँकी हुँदा निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।
निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाउन थालेका छन् ।
प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो ।
महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो ।