विप्लवलाई भोलिको सभामा उपस्थित गराउन निजी हेलिकप्टर स्ट्याण्ड बाई

Headlines समाचार

२० फागुन, काठमाडौं । भूमिगत रहेका नेकपा पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौंमा भोली (शुक्रबार) हेलिकोप्टरमा आउने भएका छन् ।

भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ रोखेको छ ।

विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतकाअनुसार विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।

विप्लव दुई वर्षदेखि सार्वजनिक भएका छैनन् । भूमिगत रहेका विप्लव कहाँ छन् भन्नेबारे खुलाइएको छैन । सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते (भोली) सार्वजनिक हुँदै छन् ।

भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

सरकार-विप्लव समुहबीच तीन बुँदे सहमति भएसँगै सो समूहका एक हजार ३६ जना बढी नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । विप्लव समूहले यसअघि राज्यले आफ्ना एक हजार बढी नेता कार्यकर्ता नियन्त्रणमा लिएको बताएका थिए । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत छन् ।