शहिद लखन गाउँपालिका गोरखाको आठौं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

पालिका बिशेष समाचार

६ फागुन, गोरखा । शहिद लखन गाउँपालिकाको आठों गाउँ सभा तथा हिउँदे अधिवेशन २०७७ फागून ६ गते गाउँपालिका अध्यक्ष श्री रमेशबाबु थापा मगरज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले शहिद लखन गाउँपालिकाको जुबा (नियन्त्रण तथा नियमन) ऐन २०७७, मदिरा (नियन्त्रण, व्यवस्थापन तथा नियमन) ऐन २०७७, जलश्रोत ऐन, २०७७, वन ऐन, २०७७ शिक्षा ऐन २०७५ पहिलो संसोधन २०७७, स्वास्थ्य सेवा ऐन २०७५ ( पहिलो संसोधन २०७७) गरी ५ वटा समसामयिक र आवश्यक ऐनहरु स्वीकृत गरेको छ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारीले गाउँपालिकाको विनियोजन ऐनलाई संसोधन गर्न बनेको विधेयक २०७७ पेश गर्नुभयो । गाउँ सभाबाट स्वीकृत उक्त विधेयकमा गाउँपालिका स्तरीय १५ वेडको शहिद लखन अस्पताल निर्माण, कोभिड-१९ अस्थायी अस्पताल निर्माण, सुरक्षित नागरिक आप्रवासन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण, गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माणका लागि संघबाट प्राप्त भएको थप अनुदान तथा बजेट र जिल्ला समन्वय समिति एवं प्रदेश सरकार अन्तर्गत भू-तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत प्राप्त बजेट समेत गरी कुल ४ करोड़ ७३ लाख २ हजार ५ सय २० रुपैया (४,७३,०२,५२०।-) थप श्रोत तथा वजेट प्राप्त हुने गरी बजेट स्वीकृत गरेको छ। साथै सातौं गाउँसभावाट विनियोजन कार्यक्रम, योजना तथा बजेट मध्ये गाउँ कार्यपालिका बैठकहरुवाट आवश्यकता र औचित्यताका आधारमा भएको रकमान्तर एवं विस्तृतीकरणलाई समेत अनुमोदन गरेको छ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँ सभा अन्तर्गत संगिता थापाको संयोजकत्वमा मिस्टर वाबु श्रेष्ठ र इश्वर श्रेष्ठ सदस्य रहनुभएको ३ सदस्यीय सुशासन समिति, चेत बहादुर थापा मगरको संयोजकत्वमा शोभा नेपाली र दुर्गा गुरुङ्ग सदस्य रहने गरी विधायन समिति र गिता परियारको संयोजकत्वमा गोपाल बहादुर राना र अक बहादुर गुरुङ्ग सदस्य रहने गरी लेखा समिति समेत गाउँसभाले गठन गर्ने निर्णय गरेको छ।

उक्त गाउँसभाले शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेशबाबु थापा मगरज्यूले पेश गर्नुभएको कक्षा १. २ र ३ को स्थानीय पाठ्यक्रम समेत स्वीकृत गरेको छ। उक्त पाठ्यक्रममा गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, सम्पदा तथा क्षेत्रहरुको परिचय स्थानीय जनजीवन, पेशा व्यवसाय सामाजिक मूल्य मान्यता र प्रकोप तथा विपद् व्यवस्थापन लगायतका विषय क्षेत्रहरु समावेश गरिएका छन्।

त्यसैगरी चालु आ.व. मा हालसम्म कुल १९ करोड ३० लाख ६ हजार ५ सय ३९ (३१ प्रतिशत बजेट खर्च भएको र हालसम्म २३ लाख ४८ हजार ३ सय ३९ रुपैया (लक्ष्यको २९ प्रतिशत) राजश्व संकलन भएको जानकारी गाउँसभामा गराइएको छ । उक्त गाउँसभामा गाउँपालिकाको चालु आव. मा भएको नीतिगत एवं महत्वपूर्ण निर्णय र कार्यक्रम तथा योजना कार्यान्वयनको प्रगति अवस्थाबारे समेत जानकारी गराइएको छ।