चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा लिखित जबाफ बुझाए

Top Post समाचार

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् । पूर्वप्रधान्यायाधीश श्रेष्ठले म्याद बुझ्नुका साथै लिखित जबाफ पनि अदालतलाई बुझाएको रातोपाटीलाई बताए । उनीहरुको लिखित जबाफमा आफूहरुको अदालतको अबहेलना गर्ने कुनै मनशाय नरहेकाे आशय रहो बताइएको छ ।

चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकको जिकिर छ ।