नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

Top Post राजनीति समाचार

१८ पुस, काठमाडौं । सत्तारूढ दल नेकपाको आधिकारिकता र निर्वाचन चिह्नको विषय निर्वाचन आयोगमा पुगे पनि आयोगले त्यस सम्बन्धमा कुनै छानबिन थालेको छैन । आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पेस गरेको कागजातमा केही अपुग भएको भन्दै थप कागजात माग गरेको छ ।

सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएपछि दुईमध्ये कुन पक्ष आधिकारिक हुने र चुनाव चिह्न कसले पाउने भन्ने बारेमा बहस र विवाद भइरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले आफूहरू नै आधिकारिक पार्टी भएको र चुनाव चिह्न सूर्य आफूहरूकै हुने दाबी गर्दै आइरहेको छ । अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले पनि आफूहरू नै आधिकारिक पार्टी भएकाले सूर्य चिह्न आफूहरूले नै पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

निर्वाचन आयोगले भने आवश्यक कागजातको अभावमा यससम्बन्धी छानबिन अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आवश्यक कागजातको अभावमा पार्टी आधिकारिता र निर्वाचन चिह्नबारे छानबिन अघि बढाउन नसकिएको बताए ।

प्रचण्ड–नेपाल समूहले पेस गरेको कागजातमा केही अंग नपुगेकाले अंग पु-याएर ल्याउनू भनेका छौं । उहाँहरूले सबै कागजात अंग पु-याएर ल्याएपछि मात्रै आवश्यक अध्ययन र छानबिन थाल्छौं
दिनेशकुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त

नेकपाका प्रचण्ड र नेपाल समूहले आधिकारिता र चुनाव चिह्नको दाबी गर्दै पत्र दर्ता गरे पनि केही कागजात अपुग भएकाले त्यस सम्बन्धमा अध्ययन नथालिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । ‘उहाँहरूको पत्र दर्ता भए पनि कागजातमा केही अंग नपुगेकाले अंग पु-याएर ल्याउनू भनेका छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

निर्वाचन आयोगले दुवै पक्षले आफ्नो दाबीसहित सम्पूर्ण कागजात र प्रमाण पेस गरेपछि मात्रै छानबिन थाली निष्कर्षमा पुगिने बताएको छ । अध्यक्ष दाहाल र नेपाल समूहका नेताहरू आयोगमा पुगेर आयोगलाई आधिकारिताबारे छिटो निर्णय गर्न दबाब दिएको छ ।

उता प्रधानमन्त्री तथा अध्यक्ष ओली समूहले भने आफूहरू नै आधिकारिक पार्टी भएकाले आफूहरूले आयोगमा कुनै दाबी पेस गर्न नपर्ने बताउँदै आइरहेको छ । यद्यपि ओली समूहले पुरानै निर्णयमा केही संशोधन गरी आयोगमा आवश्यक कागजात पेस गरे पनि दाबी पत्र भने प्रस्तुत गरेको छैन ।

आयोगले पनि अर्को समूहबाट कुनै प्रकारको दाबी पत्र नआएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक कार्यक्रममा आफू नेतृत्वको नेकपा नै आधिकारिक भएकाले त्यससम्बन्धी दाबी आयोगमा पेस गर्न जरुरी नरहेको बताएका थिए ।

निर्वाचन आयोगले नेकपाको आधिकारिकता र निर्वाचन चिह्नसम्बन्धी विवाद तत्काल नटुंगिने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यस विषयमा अध्ययन र छानबिन गर्न केही समय लाग्ने भएकाले तत्काल टुंगो नलाग्ने बताए । आजको राजधानी दैनिकमा खवर छ।