ओलीको कदम असंवैधानिक र पार्टीको विधान विपरित: कृष्ण खनाल

Headlines राजनीति समाचार

११ पुस, काठमाडौं । नेकपा का केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको दावी गर्दै त्यसको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय मदननगर भरतपुरमा चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिँदै उनले यसको सशक्त विरोध गर्न आग्रह गरेका हुन् ।

दुई तिहाइ बहुमत पार्टी कमिटीमा जोसँग रहेको छ, त्यही नै मुल पार्टी हुने बताउँदै उनले विगतका नजिर र आफूहरूले पेस गरेका प्रमाणलाई हेरेर निर्वाचन आयोगले निर्णय गर्ने उल्लेख गरे । नेता खनालले संविधानले परिकल्पना नै नगरेको संसद विघटनको सिफारिस अदालतले अवैधानिक फैसला गर्ने बताए ।

बागमती प्रदेसका संसद समेत रहेका खनालले पार्टी केन्द्रीय समितिको निर्णय बमोजिम चितवनका ७ वटा तहमा महानगर, नगर र गाउँपालिका र ती सबै पालिकामा १६ र १७ गते सम्म भेला, कमिटी पुनर्गठन र बैठक बसिसक्नुपर्ने बताए ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले पार्टीलाई सिध्याउन केपी ओली र उनको समूह लागिपरेको बताउँदै संसद विघटन र पार्टी कमिटीको विधान विरोधी गतिविधि यसको ज्वलन्त प्रमाण रहेको बताइन् । उनले पुस १४ गते काठमान्डौ केन्द्रीत विरोध प्रदर्शन कार्यक्रम चितवनबाट ब्यापक सहभागी गराउन केन्द्रित हुन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

बैठकमा जिल्ला अध्यक्ष यमबहादुर परियारले बैठकको आवश्यकता र बदलिदो अवस्थामा गर्नुपर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए । बैठकमा बागमती प्रदेश सांसद कृष्ण भुर्तेल, पार्वती सिलवाल, सचिवालय सदस्य आरसी अधिकारी, निशा अधिकारी, प्रकास ढुड्गाना, कृष्ण केसीलगायतले आआफ्नो धारणा राखेका थिए ।