नेकपाको आजको बैठक निर्णायक !

राजनीति समाचार

२० मंसिर, काठमाडौं। सचिवालय सदस्य ईश्वर पोखरेलले शुक्रबार खुमलटार पुगेर प्रचण्डलाई दुई अध्यक्षबीच सम्वादका लागि आग्रह गरेका थिए। बुधबार महासचिव विष्णु र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले छुट्टाछुट्टै रुपमा अध्यक्ष प्रचण्डलाई भेटेका थिए।

उनीहरुले केही दिन बैठक सारेर भए पनि दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका छन्। ओली समूह प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिने वा सच्च्याउने र संयुक्त प्रस्ताव पेस गर्ने विकल्प अगाडि सारेको छ। साथै भदौ २६ को सहमतिमा फर्किनु नै उपयुक्त विकल्प हुने प्रस्ताव पनि अगाडि सारेको छ।

तर, पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै संसदीय दलमा समेत बहुमतमा रहेको दाबी गर्ने प्रचण्ड–नेपाल समूह यसपालि ओलीमाथि बहुमतको दबाब बनाउने योजनामा छ। यो समूहका नेताहरुले पार्टी अनिर्णयको बन्दी नबन्ने र सहमति नभए अन्तिममा विधानअनुसार बहुमत–अल्पतमबाट निर्णय हुने बताएका छन्। यसबीचमा दुबै समूहमा नेताहरुलाई आफ्ना पक्षमा पार्न विभिन्न प्रयास पनि भएका छन्।

ओली समूह बैठक केही दिन पछाडि सार्ने पक्षमा भए पनि प्रचण्ड–नेपाल समूह भने शनिबार सचिवालय बैठक राख्ने पक्षमा छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार बैठक बस्ने जानकारी दिए। प्रचण्ड–नेपाल समूह बहुमतबाट निर्णय गर्ने योजनामा देखिएपछि विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएकी छिन्। राष्ट्रपति भण्डारीले प्रचण्ड–नेपाल समूहका नेताहरुलाई बोलएर बहुमत–अल्पमतमा नजान सुझाव दिएकी छन्। भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले भेटेका थिए। भण्डारीले मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन्।

नेकपा बैठकमा कात्तिक २८ मा प्रचण्डद्वारा प्रस्तुत १९ पृष्ठ लामो र त्यसको जवाफका रूपमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव औपचारिक छलफलमा प्रवेश गरेको छ। यिनै प्रस्ताव र दुई अध्यक्षका पत्रमाथिको छलफल शनिबारको बैठकका कार्यसूची छन्। ओलीले दाहालको प्रस्ताव आरोपपत्र भएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेका छन्। तर, बहुमत सदस्यले दुवै प्रस्ताव छलफलमा गइसकेको बताएका छन्।

दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको छ। कमिटी बाहिर सहमतिका प्रयास भए पनि सम्भव नभएको दाहाल–नेपालसमूहका नेताहरुको तर्क छ। कान्तिपुर दैनिकमा खबर छ।