विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

Top Post राजनीति समाचार

९ मंसिर, काठमाडौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव)समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु भएसँगै बढ्न थालेको हो । विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउन थालेको गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जनप्रतिनिधि, निर्माण व्यवसायी र केही कर्मचारीबाट त्यस्ता स्थानीय प्रसासनमार्फत गुनासो आएको जानकारी प्राप्त भएको र त्यस्ता कानुनद्वारा बर्जित मानिएको गतिविधि गर्ने बिरुद्ध कडा निगरानी र कारबाही गर्न निर्देशन गरिएको बताए ।

‘कुनै पनि व्यक्तिले वा समूहका नाममा जबर्जस्ती चन्दा असुल गर्न पाइँदैन, जबर्जस्ती चन्दा असुलीका धेरै गुनासा आउन थालेका छन, निगरानी बढाउन र तत्काल कारबाही गर्न निर्देशन भएको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।
विप्लव समूहललाई सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ । गृह प्रवक्ता बुढाका अनुसार सरकारले प्रतिबन्धलगायत हालसम्म सो समूहका १ हजार ८ सय नेता कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको छ ।

– प्रसाशनमा धमाधम उजुरी
– जनप्रतिनिधि, उद्योगी र निर्माण व्यवसायी हैरान

प्रहरी उच्च स्रोतका अनुसार विप्लव समूहमा आवद्ध रहेका तथा सो समूहबाट आर्थिक गतिविधिमा मुछिएर कारबाही भोगेका धेरै जसो चन्दा आतंकमा संलग्न हुन थालेको पाइएको छ ।

पार्टीबाट निष्काशन गरिएपछि उनीहरूले विभिन्न किसिमका उद्योग, व्यापार, निर्माण व्यवसाय तथा व्यापारिक गतिविधिमा संलग्नबाट ठूलो रकम माग गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको गुनासा बढेको प्रहरी बताउँछ ।

केही समयअघि मात्रै विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग ३ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका–३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका–५ का तीर्थमान तामाङ र चितवन भरतपुर–१३ का नन्दुराज आचार्य छन् ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले पक्राउ परेकाले पहिले विप्लव समूहमा रहेर काम गरेको तर अहिले सो समूह छाडेको बयान दिएको बताए ।

उनीहरूले मागअनुसार चन्दा नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । प्रहरीले शुक्रबार ललितपुरबाट दुई जनालाई पक्राउ गरेको र उनीहरू चन्दा अतंकमा संलग्न रहेको पाइएको बताएको छ । महाशाखा प्रमुख थापाले त्यस्ता गतिविधिमा संलग्नविरुद्ध सूक्ष्म निगरानी र अनुगमन बढाइएको बताए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन्।