ओली प्रचण्ड विच बालुवाटारमा भेटवार्ता सुरु

Top Post राजनीति समाचार

२५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । भेटवार्तामा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल हुनेछ ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको अनौपचारिक सचिवालय बैठक बोलाएपछि ओलीले भेट्नका लागि बालुवाटार बोलाएका थिए । भोलिसम्ममा सचिवालय बैठक बस्न ओली तयार भएमा अनौपचारिक बैठक स्थगित गरिने एक सचिवालय सदस्यले जनाकारी दिएका छन ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर पार्टीको बैठक बोलाउने तयारी गरेका छन् ।

दिउँसो चार बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेर भोलिका लागि औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी छ ।

स्रोतका अनुसार दिउँसो ४ बजे धुम्बाराहीमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अनौपचारिक छलफल गर्नेछन् ।

बहुमत सचिवालय सदस्यले दुई दिनभित्र पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै ओलीलाई शनिबार पत्र बुझाएका थिए । तर, ओलीले तत्काल बैठक बस्न नसक्ने जानकारी गराएपछि पार्टी निर्णय अनुसार अगाडि बढ्न भोलिसम्म औपचारिक बैठक बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ ।