ओलिको एकलौटी निर्णयप्रति दाहाल असन्तुष्ट

Top Post राजनीति समाचार

१६ असोज, काठमाडौं । नेकपाभित्र राजदूत नियुक्ति प्रकरणले असन्तुष्टि जन्माएको छ। सरकारले पार्टीको सल्लाहविना राजदूत नियुक्त गरेपछि असन्तुष्टि देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि बिहीबार हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकियो। बिहीबारको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मी र डा. युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै दाहालले बिहीबारको भेट रद्द गरेको उनीनिकट स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा पार्टीका कार्यकारी अध्यक्ष वा अन्य सचिवालय सदस्यहरुसँग कुनै पनि परामर्श गरेका थिएनन्। यसअघि ६ महिना लामो विवाद टुंग्याउने प्रयासस्वरुप स्थायी कमिटी बैठकले राष्ट्रिय महत्वका नियुक्तिहरु दुई अध्यक्षको परामर्श एवं सचिवालय सदस्यहरुको सल्लाहमा गर्ने निर्णय भदौ २६ गते गरेको थियो।

‘राजदूत नियुक्तिको सल्लाह पनि भएन, मन्त्रिपरिषद् पुनर्गठनमा पनि अलमल छ, सल्लाह र सहमतिमा अगाडि बढ्नुपर्नेमा त्यसो हुन सकेन, त्यसैले बिहीबार दिउँसो हुने भनिएको भेटवार्ता भएन’, दाहालनिकट स्रोतले भन्यो।

वरिष्ठ नेता माधव नेपाल समूहले पछिल्लो नियुक्ति प्रकरणले ओलीको पुरानै स्वभाव हावी भएको विश्लेषण गरेको छ। ‘प्रधानमन्त्री ओलीको पुरानो स्वाभावलाई लिएर हामीले कुनै टिप्पणी गर्नु छैन। प्रधानमन्त्रीका कतिपय अधिकारका कारण पार्टीले सैद्धान्तिक कुरामात्रै गर्ने हो। यसै गरौं भनेर दबाब दिने ठाउँ छैन’, नेपालनिकट एक नेताले भने, ‘यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन। उहाँले भन्ने एउटा हो गर्ने त अर्के छदैछ नि।’ ओली–दाहालबीच भागबन्डा मिल्दासम्म ठीकै थियो तर राजदूत नियुक्तिमा भागबन्डा नमिलेपछि दाहालले असन्तुष्टि राखेको उनले बताए। उनका अनुसार विश्वविद्यालयमा नियुक्ति गर्दा पनि दुई अध्यक्षले माधव नेपालसँग परामर्श गर्न जरुरी ठानेका थिएनन्।

ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद बढेको थियो। ओलीले आफू निकटका व्यक्तिलाई मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने दाहालले एकपटक सबैलाई फिर्ता गरेर दोहो-याउनुपर्नेमा जोड दिएका छन्। मापदण्ड बनाउने विषयमै कुरा नमिलेपछि बुधबार हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो। दुई दिनदेखि ओली र दाहालबीच छलफल हुन सकेको छैन। आजको नागरिक दैनिकमा खवर छ।