थप नौ प्रकारका स्यानिटाइजरमा पाइयो स्वास्थ्यलाई असर गर्ने रसायन

समाचार

१२ असोज, काठमाडौं। बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न औषधि विभागले आग्रह गरेको छ ।

बिक्री–वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।