पिएसजिको लगातार दोश्रो लज्जास्पद हार

खेलकुद

झलक अधिकारी, काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो । कोरोना संक्रमणका कारण पहिलो रोजाईका ५ खेलाडी टोलीमा नहुदा पीएसजीले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । मार्सेलीविरुद्ध कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमार र एन्जल डि मारियालाई उतारेपनि टोलीले हार टार्न सकेन ।

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

खेलको शुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएपनि पीएसजीले खेलको ३१औं मिनेटमा गोल खान पुगेको थियो । ड्रिमिटी पाएटको उत्कृष्ट फ्रिकिकमा कसैको निगरानीमा नरहेका फ्लोरिएनले पोस्ट नजिकैबाट वान टचमा गोल गर्दै मार्सेलीलाई १–० को अग्रता दिलाएका थिए । अफसाइड रहेको भन्दै भिएआरमा हेरिएपनि उक्त गोलले मान्यता पाएको थियो ।

५६औं मिनेटमा नेयमारले मिलाइदिएको पासमा पाब्लो सारावियाको प्रहारलाई मार्सेलीका गोलरक्षक स्टिभ मानडान्डाले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । ५९औं मिनेटमा जुआन बर्नाटको पासमा नेयमारले गरेको प्रहारलाई मानडान्डाले अर्काे उत्कृष्ट बचाउ गर्दै मार्सेलीको अग्रता कायम राखे । ६८औं मिनेटमा बर्नाटबाट पाब्लो साराविया हुदै आएको पासमा नेयमारको सिक्स यार्डबाट प्रहार गर्न नसक्दा पीएसजी बराबरीबाट चुक्यो ।

७५औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीको लामो क्रसमा बर्नाटले मिलाइदिएको पासमा नेयमारको प्रहार क्रसबारबाट थोरै बाहिरिदा पीएसजी चुकचुकायो । त्यसपछि पनि थप गोल निस्कन नसक्दा पीएसजी १–० ले पराजित हुन पुग्यो ।

इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा दुई टोलीका खेलाडी विवादमा उत्रिएपछि खेल केहीबेर रोकिन पुगेको थियो । खेलको अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

रेफ्रीले मार्सेलीका जोर्डन एमाभीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । त्यसपछि रेफ्रीले पीएसजीका लेभिन कुर्जावा, मार्सेलीका डारियो बेनेडेट्टो, पीएसजीका लियान्द्रो पाराडेस र नेयमारलाई रातो कार्ड देखाएका थिए ।

यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।