२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आज सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलमा पुग्नुभयो । उहाँले पहिरोले क्षति पुर्याएको स्थानहरुको स्थलगतरुपमा जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग छलफल गर्नुभयो ।
सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको उल्लेख गर्नुहुँदै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताउनुभयो । सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिंदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताउनुभयो ।
उहाँले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामुुख सापकोटाले पहिरो पीडित/प्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताउनुभयो ।
सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसे देखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताउनुभयो ।
यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा रहेका छन्।
