lockdown_kathmandu

उपत्यकामा थप १ साता निषेधाज्ञा लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव

Top Post समाचार

२४ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।

अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताएका छन् ।

दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए ।

उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’

अहिले लकडाउन खोल्यो भने संक्रमण झन् बढ्दै जान्छ, अस्पतालमा ठाउँको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ।

उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।

तर कतिपय विज्ञहरुले भने निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउनसमेत अनुरोध गरेका छन् ।