१९ भाद्र, बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको मात्र सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ ।
१० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।